विराटनगर / दुई जना पूर्व प्रहरी मिलरे विराटनगरमा लुटपाट धन्दा चलाउने गरेको पाइएको छ ।
लुटिएको रकमसहित घटनामा संलग्न दुई जना पूर्व प्रहरीलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
प्रहरीले लुटपाटमा संलग्न विराटनगर महानगरपालिका १ पानी टंकी बस्ने बर्ष ३८ का दिपक तामाङ र विराटनगर ४ का बर्ष ३६ का सुनिल थापालाई पक्राउ गरेको मोरङ प्र्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
पक्राउ परेका उनीहरु दुवै जना पूर्व प्रहरी हुन् । संगठनभित्र पटक पटक कारवाहीमा परेपछि उनीहरुले एक वर्ष अगाडी राजिनामा दिएका थिए । उनीहरुले प्रहरी हौं भन्दै विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीको १२ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना असोज २२ गते सोमबार दिउँसो १२ बजेतिरको हो । मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै गर्दा साह लुटिएका हुन् ।
प्रहरीका अनुसार रानीबाट विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को ठाउँमा पु¥याएर साहमाथि लुटपाट गरेका थिए । लुटपाटमा संलग्नले सुरुमा हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेको प्रहरीले जनाएको छ । त्यसपछि एक जना साहको मोटरसाइकलको पछाडि बसेर उनलाई विराटनगर–२ हनुमान मन्दिर पु¥याए । नियन्त्रणमा लिएर मन्दिर परिसरमा पु¥याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको डीएसपी दाहालले बताए ।
लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर घटनास्थलतर्फ जाँदै गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेको पाइयो,’ दाहालले भने, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ ।’
डीएसपी दाहालका अनुसार साहको नागरिकता, उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ। लुटपाट भएको रकमका बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पारिवारिक समस्याले साह भारततिर गएका कारण नेपाल फर्किएपछि लुटपाट भएको रकमका बारेमा यकिन हुने प्रहरीको भनाइ छ । पीडित साहले भने बिमामा तिर्न र बैंकमा जम्मा गर्न आफूले लिएर आएको १२ लाख रूपैयाँ लुटपाट भएको प्रहरीलाई बताएका थिए ।
बहालवाला प्रहरी हौं भन्दै लुटपाट गर्ने तामाङ र थापा दुवै जना पूर्व प्रहरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जागिर छाडेपछि गिरोह खडा गर्दै अपराध कर्ममा उनीहरु संलग्न भएको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाट गर्ने गिरोहको अपराधिक पृष्ठभूमिका बारेमा समेत अनुसन्धान थालेको छ।
घटनालगत्तै लुटपाटमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । ठाउँठाउँमा विशेष टोली परिचालन गरेर घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो । तामाङ बुधबार र थापा बिहीबार बिहान पक्राउ परेका हुन् । दुवै जनालाई विराटनगर–१ स्थित धनावत पुल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तामाङको घरको दराजभित्रबाट ५ लाख ६५ हजार रूपैयाँ बरामद गरेको छ । उक्त रकम साहबाटै लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ। लुटपाट गरिएका नागरिकता, पैसाको झोला, चेकबुक, एटीएम, ब्लुबुकसमेत प्रहरीले फेला पारेको छ । घटनामा संलग्न थापाको साथबाट केही बरामद भएको छैन ।
यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।