विराटनगर / भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ ।
विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको हो ।
आज विहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट गाजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ ।
प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो । कारोबारीको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दाहालले बताए । भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने प्रहरीको आकलन छ ।
कोशी प्रदेशको पहाडी जिल्लामा गाँजा खेती हुन्छ । उत्पादित गाँजा कारोबारीले भरिया प्रयोग गरेर मोरङ र सुनसरीको भित्री बाटो हुँदै भारत लाने गरेका छन् । तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।
यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट साभार गरिएको हाे ।